८ बैशाख २०८१, शनिबार

वर्षा र हिमपातको सम्भावना शनिवारसम्म

barsha ra hempate

पश्चिमी वायुको प्रभावले आगामी शनिवारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रवार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देश भरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, मधेस, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिएको छ ।

यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रवार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले औँल्याएको छ ।