५ जेष्ठ २०८१, शनिबार

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस, भोलि प्रधानमन्त्रीको सम्बोधन

kp oli address nation coronavirus

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको अवधि ८ दिन थप्नेलगायत महत्वपूर्ण निर्णयहरु गरेको छ।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने तथा संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जारी लकडाउन अब वैशाख ३ गते बुधबारसम्म कायम रहनेछ।

सरकारले पहिलोपल्ट चैत ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि आठ दिन थपेर चैत २५ सम्म कायम गरिएको थियो ।

लकडाउनकै बीच पारिवारिक रूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय पनि सरकारले गरेको थियो ।

तर, त्यहीबीचमा सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा कोरोना संक्रमण देखिएपछि सरकार लकडाउन कार्यान्वयनमा कडा रुपमा प्रस्तुत भयो। सोहीअनुसा अस्ति शनिबार बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तह जानसम्म निषेध गर्यो ।

प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्। लकडाउनपछि मौनजस्तै देखिएका ओलीले मंगलबार बिहान ११ बजे आफूले देशबासीलाई सम्बोधन गर्न लागेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको बुझिएको छ ।

लकडाउनबाट जीविकोपार्जनमा असर परेको वर्गका लागि प्रधानमन्त्रीले राहतका थप कार्यक्रम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ। यसअघि सरकारले गत साता राहत प्याकेज घोषणा गरेको थियो।

संसद् अधिवेशन स्थगित गर्न सिफारिस

मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

कोरोनाको जोखिम बढ्दै गएपछि संसद् बैठक लामो समयदेखि बस्न सकेको छैन। संसद् सचिवालयले लकडान सुरु भएको भोलिपल्ट चैत १२ गते सूचना प्रकाशित गरी चैत २१ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरेको जानकारी दिएको थियो । २१ गते अर्को सूचना प्रकाशित गरेर चैत ३० गतेसम्म बैठक स्थगित गर्ने निर्णय गरिएको थियो ।

राष्ट्रियसभाको बैठकले भने चैत ७ गते सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो।

गभर्नरमा महाप्रसाद अधिकारी

सरकारले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

हालका अर्थमन्त्री डा। युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नर बनेका अधिकारीलाई अहिले गभर्नर नियुक्ति गर्ने निर्णय गरिएको हो ।

अर्थमन्त्री खतिवडाको संयोजकत्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारीसहित अहिलेका कामु गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई सिफारिस गरेको थियो ।

हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी यसअघि पनि गभर्नर सिफारिसमा परेका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषदले चिरञ्जीवी नेपाललाई गभर्नर बनाएको थियो । नेपालको कार्यकाल चैत ५ मा सकिएपछि गभर्नर पद खाली थियो।