५ जेष्ठ २०८१, शनिबार

हिंसा र उत्तेजना फैलाउने अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगको निर्देशन

renu yadav

राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजना फैलाउने अभिव्यक्ति नदिन सचेत गराएको छ ।

विहीवार भएको छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्यहरुले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालको र उत्तेजनापूर्ण अभिव्यक्ति दिनु गलत हुने बताउनुभएको थियो ।

आयोगका अध्यक्ष र सदस्यहरुले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने भन्दै भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताउनुभयो ।

आयोगले अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने बताएको छ ।

त्यस्तै जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खल्बलिनेतर्फ विचार गर्नुपर्ने भन्दै सचेत रहन मन्त्री यादवलाई आग्रह गरेको छ ।

गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिनुभएको थियो ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए । सो घटनामा माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो ।

बिहीबार आयोगका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित भएको स्वीकार गर्दै सो अभिव्यक्ति कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गर्नुभएको छ ।उहाँले हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहे पनि यस्ता अभिव्यक्ति भविष्यमा नदोहोर्‍याउने प्रतिवद्धता जनाएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।