५ जेष्ठ २०८१, शनिबार

सुधार गर्नुपर्ने कुन-कुन कुरा छन् एमसिसीमा ल्याउनुस: प्रधानमन्त्री

sher bahadur deuba
फाइल फोटो

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गर्नु भएको छ ।

बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उलब्ध गराउन आग्रह गर्नु भएको हो ।

छलफलका क्रममा प्रचण्ड र नेपालले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गर्नु भएको हो।

‘एमसिसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नु भयो ।

उहाँले देशका हितमा हुने कुरामा असहमति रहने कुरा नभएको बाँकी कुराहरु संशोधन गर्नुपर्ने उहाँले बताउनु भयो । एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाउनु भयो ।

‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्,’ उहाँले भन्नू भयो।
नेता नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको भन्दै कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने बताउनु भयो ।