१६ बैशाख २०८१, आईतवार

सिएमसीको दोहोरो शुल्क असुल्ने दाउ कोरोना उपचारमा, १० जनाले गरे उजुरी

chitwan prasasan

कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गरेको भनी चितवन मेडिकल कलेज (सिएमसी) दोहोरो शुल्क उठाउने धन्दामा लागेको छ । कोरोना संक्रमितसँग उपचार खर्च असुलेको सिएमसीले कोरोना संक्रमितको निःशुल्क उपचार गराएको भनी सरकारसँग पनि शोधभर्ना बापतको रकम माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत निःशुल्क उपचार नपाउने बिरामीले उजुरी गर्नू भनेर सार्वजनिक रूपमा आह्वान गरेपछि अहिले बिरामीले भटाभट उजुरी गरेका छन् । सिएमसीविरुद्ध मंगलबारसम्म १० जनाले उजुरी गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

उनीहरूले प्रशासन कार्यालयमा सशरीर उपस्थित भएर र इमेलमार्फत उजुरी गरेका हुन् । पीडितहरूले उपचार गराउँदा सिएमसीलाई तिरेको पैसाको बिलसहित उजुरी गरेका छन् । उजुरी गर्नका लागि सिमरासम्मका पीडित चितवन आएका थिए ।

उक्त उजुरी प्रशासनले हुलाकमार्फत मन्त्रालयमा पठाएको छ । संक्रमितको निःशुल्क उपचार गर्ने विषयमा मन्त्रालय र कलेजबीच सम्झौता भएकाले बाँकी अनुसन्धान मन्त्रालयले नै गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले बताए ।

‘मेडिकल कलेज र मन्त्रालय बीच मात्रै सम्झौता भएको हो । सम्झौता गर्दा हामी थिएनौं । के–के को लिने के–को नलिने भनेर हेर्न हामीसँग विज्ञ पनि छैनन्’, उनले भने, ‘हामीले उजुरी लियौं । अब मन्त्रालयमा पठाउँछौं । बाँकी अनुसन्धान माथिबाटै हुन्छ ।’

सिएमसीले २०७८ को वैशाख, जेठ र असारमा ९६६ संक्रमितको निःशुल्क उपचार गराएको भन्दै सरकारसँग १० करोड ९५ लाख आठ हजार रुपैयाँ शोधभर्ना बापत रकम माग गरेको छ । एउटा संक्रमितलाई आठ लाख ४० हजारसम्म छुट दिएको दाबी गरेको छ ।

प्रशासनले ९ माघमा सूचना निकालेर सिएमसीमा निःशुल्क उपचार भए/नभएको सम्बन्धमा सात दिनभित्र उजुरी गर्न आग्रह गरेको थियो । प्रशासनमा सिराहाका मनोज विष्ट, भरतपुर–२० की हिमालक्ष्मी भट्ट, भरतपुर–६ का कृष्णबहादुर भण्डारी, भरतपुर–१६ का हरिचन्द्र बानिया, खैरहनी–९ का भीमबहादुर क्षेत्री, जितपुर सिमराका केशव प्रसाद न्यौपाने, ठेगाना नखुलाइएका तेज प्रजापति र विष्णु श्रेष्ठलगायतले उजुरी गरेका छन् ।

सिएमसीले आफ्नो निःशुल्क उपचार गरेको भनी सरकारसँग उपचार रकम माग गरेको थाहा पाएपछि सिएमसीविरुद्ध उजुरी गर्न सिमरा जीतपुरका केशव न्यौपाने चितवन आए ।

सिएमसीमा १७ दिन उपचार गराएपछि कोरोना पोजेटिभ हुँदैमा अब अरूलाई नसर्ने र शरीरमा पनि थप समस्या नहुने चिकित्सकको सल्लाहपछि उनी घर फर्किएका थिए । उनले सिएमसीलाई उपचार खर्च बापत आठ लाख बुझाएका थिए ।

पैसा नतिर्दा आफूलाई सिएमसीले डिस्चार्ज नै नदिएको उनले स्मरण गरे । ‘उपचार खर्च नतिर्दासम्म मलाई डिस्चार्ज नै दिएको दिइएन । तिरेपछि मात्रै घर गएको हो । तर अहिले सिएमसीले निःशुल्क उपचार गरेको भनेर सरकारसँग पैसा मागेको रहेछ’, उनले भने ।

सिएमसीले भने कोरोना संक्रमण हुनुअघि र मुक्त भएपछिको मात्रै उपचार खर्च लिएको दाबी गरेको छ । केशवको उपचार गराए बापत सिएमसीले सरकारसँग दुई लाख ५५ हजार रुपैयाँ मागेको छ ।

भरतपुर महानगरपालिका–१२ का मानबहादुर रजाली मगर र उनकी श्रीमती टुकमाया रजाली मगर दुवैजना कोरोना संक्रमित भई सिएमसीमा उपचार गरे । झन्डै १० लाख खर्च भयो ।

तर, अस्पतालले निःशुल्क उपचार गरेको भनी आफ्नो नाममा रकम मागेको थाहा पाएपछि उनी पनि प्रशासनमा उजुरी दिन गए । सिएमसीले मानबहादुरको उपचार बापत १२ दिनको एक लाख ८० हजार र टुकमायाको उपचार बापत नौ दिनको एक लाख ३५ हजार मागेको छ ।

सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडियूमा बसेको ३५ सय र आइसियु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजारमात्रै लिन पाउने व्यवस्था गरेको थियो । सिएमसीले भने एचडियूको प्रतिदिनको सात हजारसम्म लिएको छ ।