६ जेष्ठ २०८१, आईतवार

चर्काचर्की अमेरिका र रुसबीच राष्ट्रसंघीय सुरक्षा परिषदमा

russia Usa Un

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की भएको छ ।
युक्रेनका सम्बन्धमा छलफल गर्नका लागि बोलाइएको बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की भएको हो ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेपछि अमेरिकाले त्यसबारे छलफल गर्नका लाग सुरक्षा परिषदको बैठक सोमबार बोलाएको थियो।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिण्डा थोमस–ग्रिनफिल्डले रुसले सीमा क्षेत्रमा तैनाथ गरेको सैनिक संख्या युरोपमा दशकौँ यता देखिएको सबैभन्दा ठूलो तैनाथी रहेको बताइन् ।

उनका रुसी समकक्षी भासिली नेबेन्ज्याले भने अमेरिकाले रुसविरुद्ध उत्तेजना फैलाएको र रुसी मामिलामा हस्तक्षेप गरेकाले त्यो अस्वीकार्य हुने बताए।

अमेरिकासहितका पश्चिमा देशले सीमा क्षेत्रमा सेना तैनाथ गरेको रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको बताउँदै आएका छन् ।

सैन्य आक्रमण भएको खण्डमा रुसमाथि थप प्रतिबन्ध लगाउने अमेरिका र बेलायतले यसअघि नै बताइसकेका छन् । तर रुसले भने सैन्य आक्रमणको तयारी नरहेको दाबी गर्दै आएको छ ।

सुरक्षा परिषदको बैठकमा रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको भन्ने कुनै प्रमाण नरहेको बताए । रुसले आफ्नो भूमिमा सैनिक तैनाथ गर्न पाउने र त्यो अमेरिकाको चासोको विषय नरहेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तनाव बढाएर उत्तेजना फैलाएको आरोप रुसी राजदूतले लगाएका छन् ।

अमेरिकी राजदूत थोमस–ग्रिनफिल्डले तनाव समाधानका लागि आफूहरुले जहिले पनि कूटनीतिक मार्ग सुझाएको तर आक्रमण भएमा त्यसको गम्भीर परिणाम भोग्नु पर्ने बताइन् ।

युक्रेनको उत्तरी सीमा क्षेत्रमा रहेको बेलारुसमा रुसले आफ्ना थप ३० हजार सैनिक पठाउने योजना बनाएको ग्रिनफिल्डले बताइन् ।

पूर्वी क्षेत्रमा युक्रेनका सेनाले विगत ८ वर्षदेखि रुसको साथ पाएका बिद्रोहीको सामना गर्दै आएको छ ।
तनाव बढ्दै जाँदा समाधानका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग टेलिफोन वार्ता गरेका छन् ।

त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आज रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग वार्ता गर्दै छन् ।

रुसले सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै पनि सामेल हुन नपाउने सुनिश्चितता पश्चिमा राष्ट्रबाट चाहेको छ । तर अमेरिकासहितका देशले भने रुसको प्रस्तावलाई अस्वीकार गर्दै प्रक्रिया पूरा भए युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न नसकिने बताएका छन् ।

३० सदस्य रहेको नेटोमा अमेरिका, बेलायतसहित पूर्व सोभियत युनियनमा रहेका लिथुवानिया, लात्भिया र इस्टोनिया पनि छन् । पूर्वी युरोपमा तैनाथ नेटो सैनिकलाई रुसले आफ्नो सुरक्षा चुनौतिका रुपमा लिने गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।