४ जेष्ठ २०८१, शुक्रबार

गहिरोसँग एमसीसी सम्झौताका प्रावधान अध्ययन गर्न एमाले नेता भीम रावलको अपील

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

प्रतिनिधिसभा सांसद एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता भीम रावलले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनका नेताहरु लागिपरेको बताउनुहुदै सोमबार प्रधानमन्त्री, प्रतिनिधिसभा संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता एवम् सांसदहरुमा खुलापत्र जारी गर्नुभएको छ ।

संसद अवरुद्ध भइरहेको अवस्था र प्रमुख प्र्तिपक्ष दल नेकपा एमालेका दलका नेताले एमसीसी सन्दर्भमा सत्तापक्षको धारणा स्पष्ट नभई केही नबोल्ने भनेर चलाखीपूर्ण ढंगले प्रतिक्रिया दिइरहेका कारण बाध्यकारी अवस्थामा विज्ञप्ति जारी गर्नुपरेको उहाँले बताउनुभएको छ ।

एमसीसी यथास्थितिमा संसदमा पेश र अनुमोदन गरिनुहुन्न, आजसम्म कुनैपनि देशसँग भएका अनुदान सम्झौता संसदमा अनुमोदन नगरिएको अवस्थामा एमसीसीको अनुमोदनको आवश्यकताबारे रावलद्वारा जारी विज्ञप्तीमा प्रश्न उठाइएको छ ।

यस लगायत संविधानको धारा २७९ अन्तर्गत अनुमोदन गर्नुपर्ने हो भने संसदमा अनुमोदनका लागि दुई तिहाइ बहुमतको आवश्यकता हुन्छ । यी लगायत देशको संविधान र एमसीसी सम्झौताका सन्दर्भमा गहिरोसँग अध्ययन गर्न उहाँले नेताहरुमा अपिल गर्नुभएको छ ।