१५ बैशाख २०८१, शनिबार

सकियो राष्ट्रिय सभा निर्वाचन मतदान

rastriya sabha

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभामा रिक्त १९ पदको लागि सातै प्रदेशमा मतदान भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा मतदान सकिएको जानकारी दिनुभयो ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली काँग्रेसका तीन गरी १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ । उक्त रिक्त स्थानका लागि आज सातै प्रदेशमा निर्वाचन भएको हो ।

प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले राष्ट्रिय सभा निर्वाचनको मतदानको मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता पौडेलले मतदान सकिएपछि मुचुल्का गर्ने र सिल गर्ने लगायतका काम र सर्वदलिय बैठक बसेपछि मतगणना सुरु हुने जानकारी दिनुभयो ।

उहाँले कुनै बाधा नभए बुधबार राति १० बजेसम्म राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आउने अपेक्ष रहेको बताउनुभयो ।

निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता छन् ।