३० बैशाख २०८१, आईतवार

भाडामा दिने सम्झौता रद्द हुनुपर्ने ठहर, नेपाल–भारतमैत्री धर्मशाला छानबिन समितिले प्रतिवेदन बुझायो

pasupati dharmasala

नेपाल भारतमैत्री धर्मशाल भाडामा दिएको विषयमा छानबिन गर्न गठित समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवम् छानविन समितिका संयोजक नारायणप्रसाद सुवेदीले उक्त प्रतिवेदन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाउनुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने कोभिड–१९ बाट संक्रमित हुनुभएका कारण कार्यक्रममा अनुपस्थित रहनुभएको थियो ।

छानबिन समितिका संयोजक सुवेदीले प्रतिवेदन बुझाउनुहुँदै समितिले यो सम्झौता नै रद्द हुनुपर्ने ठहर गरेको बताउनुभयो । खरीद ऐन २०६३ को दफा ७४ को उपदफा २ बमोजिम कार्यविधि बनाउने अधिकार सञ्चालक परिषद्लाई रहेको तर कार्यविधि अनुरुप गतिविधि नभएको बताउनुभयो । यसैगरी, नियमावलीको मर्म र शर्त बमोजिम केही राख्न नपर्ने र प्रतिस्पर्धा कम हुने खालका शर्तहरु थपिएको समेत सुवेदीले बताउनुभयो ।

धर्मशालाको केही जग्गा आधिकारिक स्वीकृति बिना नै लिजमा दिने काम भएको, मिलेमतोमा बोलपत्रमा मापदण्ड निर्धारण लगायत भित्रि संरचनाको खाली भागमा स्पा र जिम रुम जस्ता विलासिताका संरचना निर्माण गरिएको र कोषलाइ दिनुपर्ने झण्डै ९९ लाख रुपियाँ भाडा नदिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बुझ्नुभएका मन्त्रालयका सचिव न्यौपानेले यस विषयमा सञ्चालक परिषद्को बैठकले नै निर्णय गर्ने बताउनुभएको छ । ‘यस विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले समयमै प्रतिवेदन बुझायो । माननीय मन्त्री ज्यु नै कोषको अध्यक्ष हुनुहुन्छ । कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा मन्त्रीबाटै निर्देशन हुन्छ भन्ने बुझेको छु ।’, उहाँले भन्नुभएको छ ।

नेपाल–भारतमैत्री धर्मशालामा छिमेकी मुलुक भारतले हालसम्म ४० करोड रुपियाँ सहयाग गरेको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष सुवेदीको संयोजकत्वमा रहेकोमा आशा पाण्डे, विष्णु कर्माचार्य, देवीप्रसाद बराल र सुर्यमणि गौतम गरी पाँच सदस्यीय छानबिन समितिले प्रतिवेदन उपर सर्वसम्मत निर्णय गरेको हो ।

मन्त्री प्रेम आलेले आइतबार काठमाडौंस्थित बतास अर्गनाइजेशनद्धारा सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नुभएको थियो ।