१६ बैशाख २०८१, आईतवार

आजदेखि लागु हुने गरी टेलिकमले विन्टर अफर २०७८ उपलब्ध गराउने

Nepal Telecom

नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी ‘विन्टर अफर-२०७८’ उपलब्ध गराउने भएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचीअनुसार परिमार्जन गर्दै थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो।

उक्त अफरअन्तर्गत कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ। पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ अब भने ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डेटा (प्रतिदिन क्रमशः १ जिबी, २ जिबी र ४ जिबी) लगायका सेवाहरू उपलब्ध हुनेछ। यी प्याकहरूको मुख्य विशेषता भनेको यो प्याकअन्तर्गत डेटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना इन्टरनेट चलाउन सकिन्छ।

त्यस्तै, कम्पनीले सस्तो प्रिपेड कम्बो प्याकमा पनि थप सुविधा उपलब्ध गराउँदै छ। यसअन्तर्गत २९९ रुपैयाँमा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जिबी डेटा चलाउन सकिनेछ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भिओएलटिई) सेवा प्रयोगकर्ताहरूका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर चल्नेछ। पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सकिने गरी निःशुल्क १०० मिनेट अन-नेट कलको सुविधा पाउने कम्पनीले बताएको छ। साथै, फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ।

यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ। अफर लिनको लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने हुन्छ। ग्राहकले कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट अथवा वेबसाइट मार्फत पनि विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक र ग्राहक उपयोगी हुनेमा कम्पनी विश्वस्त छ ।