१४ बैशाख २०८१, शुक्रबार

दुई देशको सीमा विवाद आपसी समझदारीमा हल गरौँः भारतीय दूतावास

lipulek Kalapani limpiyadhura map

लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि नेपालमा उत्पन्न विरोधाभाषलाई वार्ताबाट सम्बोधन गर्न भारत तयार रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्तिमार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रतिक्रियाको जवाफमा यस्तो उल्लेख गरेको हो ।

भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे यहाँस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ ।

उसले नेपालमा विभिन्न दलहरुले भारतीय प्रधानमन्त्री मोदीको अभिब्यक्तिपछि विज्ञप्ति निकालेर तथा प्रदर्शन गरेर विरोध जनाएपछि त्यसका विषयमा सञ्चारमाध्यमले राखेका जिज्ञासाको जवाफ दिएको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आपसी संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उपयुक्त छन् भन्ने हाम्रो धारणा छ।

पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् त्यसलाई आपसी समझदारीमा समाधान गर्न भारत आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि सधै तयार छ ।’

दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ ।