१४ बैशाख २०८१, शुक्रबार

निजी क्षेत्रलाई विद्युत् निर्यात गर्न दिने सरकारको तयारी

IMG 0006 1024x527 1

सरकारले अबको डेढ महिना भित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने गरी तयारी अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको तयारी भइरहेकोले एकदेखि डेढ महिना भित्रमा काम सम्पन्न गर्ने बताउनुभएको छ ।

ऊर्जा मन्त्री भुसालले अन्तर देशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको बिहीबार नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल सहितको प्रतिनिधिमण्डलसँगको भेटमा जानकारी दिनुभयो ।

विद्युत् निर्यातमा निजी क्षेत्रलाई सहभागी बनाउने सरकारको सोच रहेको भन्दै मन्त्री भुसालले विद्युत् आयात गर्न दिँदैनौँ, तपाईँहरूले गन्तव्य खोजेर निर्यात गर्नुस् त्यसमा सरकारले पनि सहयोग गर्छ भन्नुभयो ।

उहाँले बङ्गलादेशसम्म विद्युत् निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गर्नुभयो । मन्त्री भुसालले नेपालमा उत्पादन हुने विद्युत्को मुख्य बजार भारत भएकाले निजी क्षेत्रले पनि भारतमा बजार खोज्नुपर्ने बताउनुभयो ।

छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपालमा उत्पादन हुने विद्युत् निर्यातका दुई महत्त्वपूर्ण गन्तव्य भारत र बङ्गलादेश भएको भन्दै दुवै देशमा अलग–अलग उच्चस्तरीय संयन्त्रमार्फत विद्युत् व्यापारको काम अघि बढाउन खोजेको बताउनुभयो ।

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बङ्गलादेशमा नवीकरणीय ऊर्जाको उच्च माग रहेको भन्नुहुँदै नेपालमा उत्पादन हुने विद्युत् त्यहाँ निर्यातको वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

अध्यक्ष अग्रवालले विद्युत् निर्यातको काम अघि बढाउन सरकार र निजी क्षेत्र सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउन समेत मन्त्री भुसाल समक्ष आग्रह गर्नुभएको परिसंघले जनाएको छ ।