१४ बैशाख २०८१, शुक्रबार

राजनीति र विकास एक अर्काका परिपूरक हो, सँगसँगै लिएर जानुपर्छ : वरिष्ठ नेता पौडेल

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभएको छ ।

ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज उहाँले भन्नुभयो, “विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।”

विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उहाँले हिजो हामीले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिनुभयो ।

खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गर्नुभयो । म्याराथनको उपाधि तीर्थराज तामाङले हात पारेका छन् ।

४२ दशमलव पाँच किलोमिटर लामो दूरीको उक्त म्याराथन २ घण्टा ५२ मिनेटमा पार गर्दै उहाँले उक्त उपाधि जित्न सफल हुनुभएको हो ।

त्यसैगरी देवराज महतराले २ घण्टा ५४ मिनेटमा सो दूरी पार गरी द्वितीय भएका छन् । यी दुबै जना त्रिभुवन आर्मी क्लबका हुन् ।

त्यसैगरी सुमन कुलुङ राईले तृतीय र राजन मेयङग्बाले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीलाई क्रमशः ६५, ४०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।