६ जेष्ठ २०८१, आईतवार

सीसीएमसीसी बैठक: कोरोनाका कारण १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय

ccmc1641552327

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकले माघ १५ गतेसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

त्यस्तै अभिभावकलाई पनि बालबालिकालाई विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो । संक्रमणको चेन ब्रेक गर्ने अपेक्षाका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालले बताउनुभयो ।

सीसीएमसीले यो निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस समेत गरेको छ । बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने बैठकको निर्णयमा भनिएको छ ।

बैठकले होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदि सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आउँदो माघ ३ गतेदेखि लागू हुनेगरी मोबाइलमा फोटो भए पनि खोप कार्ड साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी निर्णय भएको प्रवक्ता नेपालले जानकारी दिनुभयो ।