१६ बैशाख २०८१, आईतवार

खोटाङ एमाले अध्यक्षमा दङ्गाल

k

नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन हुनुभएको छ । श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो । शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसम्मतको प्रयासमा ढिलो गरी सम्पन्न भएको हो ।

विसं २०५४ देखि पार्टीको जिल्ला कार्यसमितिमा लगातार काम गर्नुभएका अध्यक्ष दङ्गाल एमाले विभाजन हुँदा एमालेमै रहनुभएको थियो । विसं २०७२ वैशाखमा सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएका उहाँ तत्कालीन अध्यक्ष बबि चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएपछि अध्यक्षमा मनोनित हुनुभएको थियो ।

प्रेस चौतारी खोटाङकाअध्यक्षमा राई

प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ । समितिको सदस्यमा मनोज आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जिवी रिजाल, रोशन राई र उमेश भुजेल रहनुभएको छ । पाँच सदस्यीय सल्लाहकार समितिमा दमन राई, हरिवोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई रहनुभएको छ । प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित सचिव रिजालले जानकारी दिनुभयो ।

अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भए पनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले पत्रकारले राजनीतिक आस्थाका आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो ।