१२ बैशाख २०८१, बुधबार

दुई राउटे युवतीसँग मन्त्री रामकुमारी झाँक्रीले लगाइन् मितिनी साइनो

ramkumari 63

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राउटे समुदायकी दुई युवतीसँग मितिनी साइनो गाँस्नुभएको छ ।

मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग मितिनी साइनो गाँस्नुभएको हो । यस्तै मन्त्रालयकै भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाउनुभएको छ । टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरिएको थियो ।

सङ्घीय सरकारको राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माण कार्यान्वयनमा ल्याउन मन्त्री झाँक्रीले राउटेसँग मितेरी गाँस्नुभएको हो । पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । तर फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् । राउटेबस्ती पुगेको मन्त्री झाँक्रीसहितको टोलीले राउटे अगुवासमक्ष स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउनुभयो । मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सहमत नभएपछि मितेरी साइनो गाँसिएको हो ।

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला स्थित तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने प्रकृतिका भवन निर्माणको प्रस्ताव राख्नुभएको थियो । मितेरी साइनोपछि राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिए ।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्ने सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले जानकारी दिनुभयो ।

राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गर्नुभएको छ । मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए ।