१७ बैशाख २०८१, सोमबार

सबै वर्तमान गतिरोध अन्त्य गर्न केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

61d995785b045 Ram baran yadhav

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताउनुभएको छ ।

शनिबार चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताउनुभयो । ‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खोजियो, सदनमाथि आक्रमण गरियो’, उहाँले भन्नुभयो ।

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको गुनासो छ । ‘यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो’, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भन्नुभयो । जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको बताउनुभयो ।

पछिल्लो समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले मुलुकमा सुखद् सङ्केत नदेखिएको बताउनुभयो । ‘अदालतमा यो स्थिति छ, संसद्‍ त्यो स्थिति छ, यो व्यवस्थालाई बचाएर लैजान राष्ट्रपतिको के कर्तव्य छ, सरकारको के दायित्व छ ? सरकारले राज्यको कार्यकारिणीको दायित्व छ, राजनीतिक दललाई एक ठाउँमा राखेर छलफल गरेर अदालतलाई कसरी चलाउने ? प्रतिनिधिसभालाई कसरी अगाडि लैजाने ? सम्पूर्ण समस्याको समाधान गर्ने थलोलाई बन्धक बनाएर राखिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्दै उन्नत समाज निर्माणमा सबैको प्रयास केन्द्रित हुनुपर्ने बताउनुभयो ।

राजनीतिक दलहरूमा देखिएको विचलन र भ्रष्टीकरणले नेपाली जनता सन्तुष्ट नभएको उहाँको भनाइ थियो । लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नेपालमा राजनीतिक परिवर्तन भएको उहाँले बताउनुभयो । पुस्तकमाथि डा इन्दिरा अधिकारी, डा हरि रोका र डा सुरेन्द्र केसीलगायतले समीक्षा गर्नुभएको थियो ।