१३ बैशाख २०८१, बिहीबार

आजदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना

Bajura himpat.
फाइल फोटो

आजदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ता चार दिन मौसम खराब रहने महाशाखाले जनाएको छ । महाशाखाले अब आउने मौसमी प्रणालीले देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ ।

विशेष वक्तव्य जारी गर्दै विभागले हिउँदे वर्षाको असरबाट जोगिन आग्रह पनि गरेको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

भोलिदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ। सो क्रममा भोलि र पर्सी सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहनेछ।

यी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भएर हल्कादेखि मध्यम वर्षा गराउनेछ। उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनेछ। केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपील गरेको छ।

प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ। ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ। वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ।

यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोध गरिएको छ।