१२ बैशाख २०८१, बुधबार

गुट र भागबन्डा पार्टीभित्रको अन्त्य हुन्छ: महामन्त्री थापा

gagan 09 19 1024x462 1

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले आज दुर्गा फाँटमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताउनुभयो । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्रीमा निर्वाचित भएपछि काठमाडौँ उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाउनुभयो । उहाँले जनताको बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउनपछि नपर्ने स्पष्ट पार्नुभयो ।

कांग्रेस पाणिनिका सभापति तुलसी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गर्नुभएको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, कांग्रेस प्रवेश गर्नुभएकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिकामा नेकपा (एमाले)बाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४७५ जना काँग्रेसमा प्रवेश गरेका छन् । उहाँहरूलाई महामन्त्री थापाले पार्टी प्रवेश गरेकामा स्वागत गर्नुभएको थियो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।