१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय फूटबल टिमको बन्द प्रशिक्षणका लागि ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा

nepali footbal 63

आगामी महिना अफ्रिकी राष्ट्र मोरिसससँग हुन लागेको दुई मैत्रीपूर्ण फुटबलको तयारीका लागि ३४ खेलाडीलाई प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा बोलाइएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आज प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

मुख्य प्रशिक्षक अलमुताईरीले जारी ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन् । छनोटको प्रारम्भिक चरणमा ५ गोलरक्षक, ६ डिफेन्डर, १६ मिडफिल्डर तथा ७ फरवार्ड रहेका छन् ।

पुलिस क्लब र जावलाखेल युथ क्लबका गोलरक्षक शत्रुघन चौधरी र टिकेन्द्र थापा, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिशरत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राईले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

टोलीका अनुभवी तथा नियमित खेलाडी रोहित चन्द र घाइते भई उपचार गराईरहेका नवयुग श्रेष्ठ पनि टोलीमा समावेश छैनन् । चोटकै कारण लामो समयदेखि टोली बाहिर रहेका स्ट्राइकर विमल घर्तीमगर र डिफेन्डर देवेन्द्र तामाङले टोलीमा स्थान बनाउँदा मिडफिल्डर सुभाष गुरुङले पनि टोलीमा पुनरागमनको मौका पाएका छन् ।

टोलीको प्रशिक्षण भने पुस ३० गतेबाट सुरु गर्ने एन्फाको तयारी छ । त्यस समय लिगमा नवौं चरणका खेलहरु सकिने क्रममा हुनेछन् । त्यसैले खेलाडीहरु आफ्नो क्लबको खेल सकिए लगतै बन्द प्रशिक्षणमा सामेल हुनेछन् ।

नेपालले फिफा डेट अनुसार माघको १५ र १८ गते मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेल अफ्रिकी राष्ट्रसँग नेपालको पहिलो आधिकारिक खेल हुनेछ ।

नेपाल पछिल्लो पटक माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागी भएको थियो । पहिलो पटक फाइनल पुगेको नेपाल भारतसँग ३(० गोलले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।