१४ बैशाख २०८१, शुक्रबार

अधिकार प्रयोगमा देउवाको पक्षपाती !

Sher Bahadur Deuba
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिमा सदस्य मनोनयन गर्ने आफ्नो अधिकार प्रयोग गर्दा पक्षपाती बन्नु भएको छ । आफूलाई सहयोग गर्ने र निश्चित घेराभित्र पर्ने मात्र उहाँको लिस्टमा पर्दा गत १४ औँ महाधिवेशनले दिएको रुपान्तरणको सन्देश कमजोर बन्ने देखिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । १ सय ६७ सदस्यीय केन्द्रीय समितिमा प्रत्यक्ष निर्वाचनबाट आउने १ सय ३४ र थप ३३ सदस्य केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने विधान बमोजिम देउवाले हालसम्म १३ जनालाई मनोनित गर्दा अधिकांश आफू निकटकाहरु परेका छन् ।

नेपाली कांग्रेसको विधानको धारा २१ को १० बमोजिम सभापतिले मनोनित गर्न पाउने कोटामा एक तिहाई महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राख्नुपर्ने भनिएको छ । तर देउवाले ३३ जना सदस्य मनोनयनको अधिकार प्रयोग गर्दा सुरुमै पक्षधरता देखाउनु भएको छ ।

उहाँले गत महाधिवेशनमा आफूलाई सहयोग गरेकाहरुलाई नै सदस्यका रुपमा केन्द्रीय कार्य समितिमा भित्र्याउँदा धेरैजसो पदाधिकारीमा पराजित अनुहार छन् । शनिबार मनोनित सदस्यमा सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि परेका छन् । यी दुवै जनाले सभापति पदमा दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

त्यस्तै इतर गुटको नेतृत्व गरेको भनिए पनि अन्ततः मौन बसेर मतदानमासमेत सहभागी नभएका वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाको रोजाइमा पर्नुभयो । पौडेलको मौनतालेसमेत देउवालाई सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाविरुद्ध जित निकाल्न सहज भएको थियो ।

त्यस्तै उपसभापतिमा पराजित विजय कुमार गच्छदार, १३ औँ महाधिवेशनदेखि नै देउवाका सहयोगी बनेका कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, देउवाका क्याबिनेट सहयात्री डा. नारायण खड्का र उमा रेग्मी, उपसभापतिमा पराजित भएर अन्ततः देउवालाई नै सहयोग गरेकी सुजाता कोइराला र देउवालाई नै सहयोग गर्न कुनै पनि पदमा चुनाव नलडेका मीन विश्वकर्मा छनोटमा परेका छन् ।

आइतबार देउवाले मनोनित गरेका सदस्यहरुमा पनि पराजित अनुहार र निकट नै परेका छन् । आफ्नै प्यानलबाट महामन्त्री चुनाव हारेका प्रदीप पौडेल, सहमहामन्त्रीमा हारेका जीवनबहादुर शाही र सभापतिमा झिनो मत ल्याएर अन्त्यमा देउवालाई नै समर्थन गरेका कल्याण गुरुङ मनोनयनमा परेका छन् ।

वर्षौँदेखि गुट र गुटको भागबण्डामा अल्झिएको कांग्रेसमा १४औँ महाधिवेशनपछि गुटहरु जबरजस्त स्थापित हुने गरी देउवाले केन्द्रीय सदस्य मनोनयनमा मनोमानी शुरु गर्नुभएको छ । पार्टीमा सभापति पदमा निकट प्रतिद्वन्द्वी भएर पराजित भएका डा. शेखर कोइरालाबाहेक निर्वाचनबेगर सदस्य बन्ने अधिकांश नेताहरु देउवाको निकटस्थ नै छन् ।

संस्थापन पक्ष ६० र इतरपक्षको ४० प्रतिशत भागबण्डा लगाउने बानी परेको कांग्रेसमा देउवाले केन्द्रीय समितिमा यसै पनि बहुमत ल्याउनु भएको छ । त्यसबाहेक मनोनयनमा गरिएको मनोमानीले ६०–४० को भागबण्डालाई केही कम गर्न सक्ने कतिपयको अनुमान पनि छ । तर सभापतिले पहिलो केन्द्रीय कार्य समिति बैठकमै देखाएको वरियताक्रममाथिको रवैया र मनोनयनमा देखाएको पक्षपातले मनोमालिन्य झनै बढ्ने आशंकासमेत गरिएको छ ।

पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको जस्तो सहमति, सहकार्य र एकताको सुत्रलाई पार्टीभित्रै देउवाले नजरअन्दाज गर्दा आन्तरिक लोकतन्त्र थप कमजोर बन्ने त होइन भन्ने आशंका हुनु स्वभाविकै हो । भिन्न मत राख्ने र आफूलाई प्रत्यक्ष सहयोग नगर्ने नेताहरुलाई स्थान नै नदिने प्रवृत्तिले असहयोग बढ्ने त छँदैछ यसले महाधिवेशनले दिएको पार्टी रुपान्तरणको सन्देशलाई पनि धुमिल तुल्याउने कांग्रेस निकट विश्लेषकहरुको राय छ ।

महाधिवेशनमा संस्थापन पक्षबाट सभापति पदमा आफै दोहोरिए पनि कार्यकारी अन्य पदमा नेता कार्यकर्ताले दिएको मत र देखाएको विवेकको नजरअन्दाज गर्ने छुट देउवालाई छैन ।

उसपभापतिमा कोइराला प्यानलका धनराज गुरुङ र महामन्त्रीमा गगन थापा, त्यस्तै महामन्त्रीमै प्रकाशमानको प्यानलका विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीमा पनि भिन्न प्यानलहरुबाट भएको प्रतिनिधित्वले पार्टीमा विवेकलाई प्रधानता दिएको आभास हुन्छ ।

पार्टी सदस्यहरुले देखाएको विवेक सभापति देउवाले केन्द्रीय कार्य समितिमा प्रयोग गर्न नसक्ने हो भने कांग्रेसले महाधिवेशनमा रटेको उत्साह, एकता र रुपान्तरणको नारा फगत ढोङ मात्र बन्ने छ ।