१४ बैशाख २०८१, शुक्रबार

प्रबन्ध सञ्चालकसहित १० व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा दायर

ciaa

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक सहित १० जना व्यक्ति र २ कम्पनीलाई एक अर्ब बिगो दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

सरकारले तोकेको गुणस्तर भन्दा कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी सहित १२ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी सहित प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दीप बुढा रहेका छन् ।

यस्तै गलत प्रतिवेदन तयार गर्ने कार्यमा सघाउने नेपाल इन्भरमेन्ट एणड साइन्टेफिक सर्भिसका सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी, मनोज आचार्य र आपूर्तिकर्ता जोशी बिजका विनीत जोशी समेत गरी १० व्यक्ति र २ कम्पनी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ भुक्तानी भई उक्त सरकारी रकम हानी नोक्सानी भएको भन्दै सो बराबरको बिगो सहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिनुभयो ।