
सप्तरीमा साहूसँग ऋण लिंदा नागरिकता नै बन्धकीमा राख्ने चलन रहेको तथ्य खुलेको छ । ऋण लिन घर, गरगहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहू कहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राख्ने चलन रहेको पाइएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासाका रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग २० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धनकीमा राखेको तथ्य खुलेको छ । सदाका अनुसार २०७६ चैत महिनामा कोरोना महामारीको बन्दाबन्दीको बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकोले गाउँले रविसँग ऋण माग्न गएको रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ भनेका थिए । आफूसंग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाले बताए ।
ऋण तिर्न नसक्दा नागरिकता बन्धकीमा परेपछि ठूलो समस्यामा भोग्नु परिरहेको सदाले बताए । ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिनाइ भएको छ । पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ भनी वडाध्यक्षको कथन रहेको भन्दै सदाले भने,‘नागरिकताका लागि सिफारिस गराएर सबै कागजात लिइ पटक–पटक बोदे बर्साइनमा रहेको इलाका प्रशासन कार्यालय पुगें तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए ।” एकातिर पतिको नागरिकता बन्धकीमा छ अर्काेतिर आफ् नो नागरिकताका लागि पतिको नागरिकता ल्याउनु भन्छ, त्यसैले ठूलो समस्यामा परेको सदाकी श्रीमती सावित्रीदेवीको गुनासो छ ।
ऋण लिए वापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूँ रविकहाँ धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको उनले बताइन् । भारतको पञ्जाबमा मजदुरी गरी हालै फर्किएका आफ्ना पतिले साहू रविलाई २० हजारमध्ये १५ हजार चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहूले बताउँदै आएका छन् ।
साहुले नागरिकता फिर्ताका लागि कि त पूरै ऋण चुक्ता गर कि त मेरो खेतबारीमा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएको सावित्रीले बताइन् । एकातिर तत्काल ऋण चुक्ता गर्ने पैसा छैन र अर्काेतिर आफू बिरामी रहेकाले काम गर्नसक्ने अवस्था नरहेको दुखेसो उनले पोखिन् । भारतको विभिन्न सहरमा मजदुरीका लागि नेपालबाट कामदार लैजाने र ल्याउने ठेक्कापट्टाको काम गर्दै आएका साहू रविले ऋणवापतको रकम चुक्ताका लागि सावित्री देवीका पति रामविलासलाई पनि भारतको पञ्जाब लगेका थिए ।
“मजदुरी गरेर पञ्जाबमै साहू रविलाई १५ हजार ऋण तिरिदिएँ”, रामविलासले भने , “तर बाँकी पाँच हजार र केही ब्याज रकमका लागि रविले नागरिकता फिर्ता दिन चाहिरहेका छैनन ।” बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि मैले नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा त्यो पनि सम्भव नभएको रामविलासको कथन छ ।
नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकताको नम्बर, र जारी मिति अनिवार्य चाहिने भएको वडा कार्यालयका कर्मचारीहरुले भन्दै आएकोमा आफूसंग न त पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण छैन त्यसैले प्रतिलिपिसमेत बन्न नसकेको रामिविलासको गुनासो छ । नागरिकता भएर पनि पहिचान विहीनको अवस्थामा पुग्दा राज्यका हरेक सेवा तथा सुविधाबाट समेत वञ्चित सदा दम्पतीले अहिलेको पहिचान विहीनताको अवस्थाबाट न्याय दिलाउन सबै संग आग्रह गरेका छन् ।
सदा दम्पतीको समस्यालाई लिएर नागरिकताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेशकुमार सदाले बताए । द फ्रिडक फण्डको सहयोगमा उक्त केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रमा दलित हरुवा चरुवा परिवारका लागि नागरिकता, जन्मदर्ताका लागि अभियान सञ्चालन गर्दै आएको छ ।
दलित बस्तीका हरुवा चरुवा परिवारलाई लक्षित गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताउंछिन । त्यही कार्यक्रम अन्तर्गत सदा दम्पतीको नागरिकता समस्या समाधानको पहल भइरहेको उनले बताइन् ।