१५ बैशाख २०८१, शनिबार

अझै केही दिन जाडाे हुने, आज एकै दिन दुई डिग्री तापक्रम घट्याे

weather

बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्रीसेल्सियस थियो तर शुक्रबार विहानको तापक्रम ४.५ डिग्रीसेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क छ ।

देशभर भएको बाक्लो हिमपातसँगै न्यूनतम तापक्रममा एकै दिन दुई डिग्रीसेल्सियससम्म कमी आएपछि अत्यधिक चिसो भएको छ । चिसोका कारण बाक्लो हुस्सु लाक्दा देशभर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बिहान केहीबेर प्रभावित बनेको थियाे ।

शुक्रबार बिहानसम्ममा देशकै सबैभन्दा धेरै चिसो जुम्लामा माइनस ५ डिग्रीसेल्सियस पुगेको छ भने सबैभन्दा धेरै अधिकतम तापक्रम विराटनगरमा २४.७ डिग्रीसेल्सियस पुगेको महाशाखाको तथ्याङ्क छ ।

मङ्गलबारदेखि मौसममा बदली हुँदा हिमाली र उच्चपहाडी क्षेत्रको एक हजार सात सय मिटरसम्म हिमपात भएको थियो भने देशैभर वर्षा भएको थियो ।

यता मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले अरब सागरबाट नेपाल प्रवेश गरेको जलवाष्पसहितको वायु रोकिए पनि स्थानीय वायुका कारण चिसो कायमै रहदाँ बाक्लो हुस्सु लागेकाले चिसो अझै कायमै रहने बताउनुभयो । अझै एक साता स्थानीय वायुको प्रभाव रहने उहाँले जानकारी दिनुभयो ।