
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई दुई देशबीचको सम्बन्ध तोडिन सक्ने चेतावनी दिएका छन । युक्रेनसँग जोडेर नयाँ रुसमाथि प्रतिबन्ध लगाइए अमेरिकासंगको सम्बन्ध पूर्ण रूपमा टुट्न सक्ने पुटिनले चेतावनी दिएका हुन ।
बिहीवार अबेर अमेरिकी राष्ट्रपति बाइडनसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू अमेरिकाका लागि ठूलो भुलु हुने बताएका थिए ।
बाइडनले भने युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई पनि अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताएका थिए।
उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो।
बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ।
युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने यस्तो प्रयास भएको हो ।
अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए यसअघि कसैले नदेखे जस्तो प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ।
तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ।
रुसले आफ्नो सीमाभित्रको क्षेत्रमा सैनिकहरू स्वतन्त्र रूपले रहन पाउनु आफ्नो अधिकार रहेको बताएको छ।
रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको बिबिसीले जनाएको छ।