१३ बैशाख २०८१, बिहीबार

बैङ्किङ प्रणाली सुरक्षित छ : राष्ट्र बैङ्क

rastra bank

‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैङ्कका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए ।

कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो भने राष्ट्र बैङ्कले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो । साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउनुभयो । विश्वमा दिनको ३०औँ हजार ह्याकिङका प्रयास हुने गरेको बताउँदै उहाँले त्यसकै एउटा प्रयास भएको बताउनुहुन्छ ।
नेपालको बैङ्किङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँदै उहाँले भन्नुभयो, “निक्षेपकर्ताको रकम बैङ्कमा सुरक्षित छ । बैङ्किङ प्रणाली पनि एकदमै सुरक्षित छ । यसमा कोही डराउनुपर्दैन । ”

गत साउनमा पनि नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैङ्कका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैङ्कका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको इमेलको स्क्रिनसट धेरैका हातहातमा पुगेपछि यसले सर्वसाधारणलाई आतङ्कित बनाएको थियो ।

त्यसबेला इमेल साथै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको थियो भने राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय नम्बरबाट फोनसमेत आएको थियो ।
आफूलाई ह्याकर बताउने समूहले नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको थियो भने कलसमेत गरेको थियो ।

भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएपछि तत्काल नेपाल राष्ट्र बैङ्क र विभिन्न बैङ्कको सिस्टम चेक गर्दा सिस्टम सुरक्षित रहेको र ह्याक नभएको तथा डराउनुपर्ने अवस्था नभएको भन्दै राष्ट्र बैङ्कले आश्वस्त तुल्याएको थियो । त्यतिबेला ह्याकरले पठाएको इमेलको स्क्रिनसटमा नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छे« बैङ्क, एनएमबी बैङ्क, एनआईसी एसिया बैङ्क, बैङ्क अफ काठमाण्डू, सिटिजन्स बैङ्क इन्टरनेसनल, सानिमा बैङ्क, नेपाल एसबीआई, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट र हिमालय बैङ्कको नाम उल्लेख गरिएको थियो ।