१५ चैत्र २०८०, बिहीबार

थुप्रै नेता लाखापाखा : पदाधिकारीमा सक्षम नेताको अभाव हुने विश्लेषण

prachanda 6 63

आठौँ महाधिवेशनसम्म आइपुग्दा माओवादी केन्द्रका थुप्रै नेताहरु लाखापाखा भइसकेका छन् । कतिपय नेताले नयाँ पार्टी खोलेका छन् भने कतिपय अर्कै पार्टीको कार्यसमितिमा पुगिसकेका छन् ।

आठौँ महाधिवेशनबाट बहुपदीय संरचनामा जान लागेको माओवादीमा १५ जना पदाधिकारीमै आउन सक्षम नेताहरुको अभाव हुने विश्लेषण गर्न थालिएको छ ।

एक दशक लामो सशस्त्र युद्ध र शान्ति प्रक्रियाको डेढ दशकभन्दा लामो समयमा माओवादीले थुप्रै सहकर्मी गुमाएको छ । पहिलो संविधानसभामा पहिलो दल बन्न सफल भए पनि त्यसपछिका वर्षहरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार आफ्ना सहकर्मी गुमाएँदै आउनु भएको छ ।

नेकपा एमालेसँगको एकीकरणपछि ठूलै पार्टीको अध्यक्ष बनेका प्रचण्ड नेकपाको एकीकरण भत्किएपछि फेरि पनि पूर्व सहकर्मीहरु गुमाउन पुग्नु भयो । आठौँ महाधिवेशनले बहुपदीय संरचनाको दिशा तय गर्दा अब ती पदहरुमा उपयुक्त व्यक्ति राखेर पार्टी हाँक्न र फेरि शक्तिशाली पार्टी निर्माण गर्न प्रचण्ड सामु ठूलै चुनौती खडा भएको छ । तर यो क्षतिलाई पार्टीले अबसरका रुपमा प्रयोग गर्न सक्ने कतिपय नेताको राय छ ।

पछिल्लो पटक रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताहरु प्रचण्डसँगको असन्तुष्टि वा लाभका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकटताका कारण माओवादीले गुमाएको छ । तर क्षणिक फाइदाका लागि एमालेसँग लागेका नेताहरु छुट्टिँदा पार्टीलाई क्षति नभएको माओवादी नेताहरुको दाबी छ ।

प्रभावशाली नेताहरु नै नभएपछि पार्टीप्रतिको आम विश्वास घट्दै जाने कुरा निश्चितै छ । तर केही नेतालाई भने एउटा पङ्तिले पार्टी छोड्दा नयाँ पुस्ताले अवसर पाउने विश्वास छ ।

पार्टीका महाधिवेशनमा उसले तय गर्ने भावी कार्यदिशा, विचार, मार्गदर्शक सिद्धान्त महत्वपूर्ण त हुन्छ नै । त्यही नयाँ कार्यदिशामा पार्टीलाई लैजान सक्ने नेतृत्व झन महत्वपूर्ण हुन्छ । त्यसैकारण पनि सबैजसो पार्टीका महाधिवेशनमा नेतृत्व कस्तो चयन होला भन्ने चासो आम रुपमा व्यक्त हुन्छ ।

माओवादीमा भने नेतृत्वका लागि अध्यक्ष प्रचण्डको निर्देशन पर्खेर हो वा मुख खोल्ने आँट गर्न नसकेर हो कसैको पनि दाबेदारी अहिलेसम्म देखिएको छैन । एकातिर धेरै नेताले माओवादी छोडिसक्नु र अर्कोतिर पार्टीमा भएकाहरुसमेत चुपचाप नेतृत्वको टिका पर्खेर बस्नुले माओवादीले अब कस्ता पदाधिकारी ल्याउला भन्ने चासो सर्वत्र बढेको छ ।