६ माघ २०७८, बिहीबार

सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् : उड्डयनमन्त्री आले

minister prem bahadur ale
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।

विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो । उहाँले भन्नुभयो, “विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस् ।”

भारत भ्रमणबाट आजै स्वदेश फर्किनु भएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल (एटिसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिनुभएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँले बताउनुभयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, “एटीसीको कन्ट्रोलरूपमै पुगेर मन्त्रीज्यूले जानकारी लिनुभयो, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबलसमेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ ।”

मन्त्री आलेले करिब तीन घण्टाजति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । अनुगमनकै क्रममा उहाँले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।