१३ बैशाख २०८१, बिहीबार

संस्थापन पक्षको बर्चश्व कांग्रेस प्रदेश २ पदाधिकारीमा

Congress

नेपाली कांग्रेस प्रदेश २ को पदाधिकारीमा संस्थापन पक्षले ‘क्लिन स्वीप’ गरेको छ ।

सभापतिमा निर्वाचित कृष्णप्रसाद यादवको टिमबाट उपसभापतिसहित सबै पदाधिकारी निर्वाचित भएका हुन् । कृष्णकै प्यानलबाट दुई जना उप सभापति, दुई जना महामन्त्री, दुई जना सहमहामन्त्री र एक जना महिला सहमहामन्त्री निर्वाचित भएका छन् ।

गए राति सकिएको अन्तिम मत परिणाम अनुसार उपसभापतिमा संस्थापन पक्षका वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार यादव निर्वाचित हुनुभएको छ । सिंहले १ हजार १९ र चन्द्रशेखरले ८ सय ९५ मत पाउनुभयो ।

महामन्त्रीमा संस्थापन पक्षका उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपेन्द्रले ९५९ तथा श्रेष्ठले ७८८ मत ल्याएर विजयी हुनुभएको हो । सहमहामन्त्रीमा संस्थापन पक्षका पर्शुराम चौधरी र जयनारायण यादव निर्वाचित हुनुभएको छ । महिला सहमहामन्त्रीमा पनि संस्थापन पक्षकै बिन्दु यादव निर्वाचित हुनुभएको छ ।

यसैबीच नेपाली कांग्रेस प्रदेश २ को मतगणना स्थलमा केही बेर विवाद देखिएको थियो । महामन्त्री पदमा संस्थापन इतर पक्षका महामन्त्रीका उम्मेदबार नरेश यादव निर्वाचित भएको घोषणा गरेपनि प्रमाण पत्र दिन नमानेको भन्दै विवाद भएको थियो ।

निर्वाचन समितिले परिणाम जोड्दा गल्ती भएको भन्दै सच्याएर श्रेष्ठलाई विजयी घोषणा गरेपछि यादवले निर्वाचन समितिमा निवेदन दिनुभएको छ ।