१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डबाहेक माओवादीमा अध्यक्ष हुन सक्ने कोही छ ?

प्रचण्डबाहेक माओवादीमा अध्यक्ष हुन सक्ने कोही छ ?

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि शुरु हुँदैछ । एमाले र कांग्रेसले जस्तो महाधिवेशन नभने पनि माओवादीले राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चयन गर्दैछ । तर, अध्यक्षमा भने माओवादी केन्द्रभित्र पुष्पकमल दाहाल प्रचण्डलाई कसैले चुनौती दिने देखिँदैन ।

नेकपा माओवादी स्थापनादेखिकै प्रमुख नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड माओवादीभित्र पुनः सर्वसम्मत जस्तै देखिनुभएको छ । ०५२ फागुन साल फागुन १ गते दीर्घकालिन जनयुद्द्ध घोषणा गर्दा महासचिवका रुपमा नेतृत्वमा रहेका प्रचण्ड पार्टीले गठन गरेको जनमुक्ति सेनाको सुप्रिम कमाण्डर नै रहनुभयो ।

०६२–६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको माओवादीले त्यसपछि पटकपटक टुटफुट बेहोर्‍यो । पार्टीभित्रका मुख्य नेताहरु मोहन वैद्य , डा बाबुराम भट्टराई, रामबहादुर थापा, नेत्रविक्रम चन्द, सीपी गजुरेल, टोपबहादुर रायमाझी लगायत थुप्रै नेताले माओवादी परित्याग गर्नुभयो ।

युद्धकालमा माओवादीले भन्ने गरेको हेडक्वार्टर छिन्नभिन्न हुँदा पनि प्रचण्डले नेतृत्व छोड्नु परेन । २०७५ सालमा नेकपा एमालेसँग एकता गरी नेपाल कम्युनिष्ट गठन गर्दा पनि प्रचण्ड दुईमध्ये एक अध्यक्ष नै हुनुहुन्थ्यो । सर्वोच्च अदालतको ०७७ फागुन २३ को फैसलासँगै माओवादी पूर्ववत् अवस्थामा फर्कँदा पनि प्रचण्ड अध्यक्ष नै रहनुभयो ।

अहिले राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्दैगर्दा पनि अध्यक्षमा प्रचण्डलाई टक्कर दिने कोही नदेखिँदा फेरि अर्को कार्यकालका लागि पनि प्रचण्ड निर्विकल्प देखिनु भएको छ । तर, प्रचण्ड भने अध्यक्षमा रहनु आफ्नो चाहना नभएर मुलुक र जनताको आवश्यकता भन्नुहुन्छ ।

माओवादीका दोस्रो तहका नेताहरु पनि अहिले प्रचण्डको विकल्प देखिरहेका छैनन् । राजनीतिक कार्यदिशा र विचारको थप विकास गर्ने जिम्मा अध्यक्षलाई नै दिइएको छ । माओवादीभित्र अहिले विचारको बहस नै छैन । माओवादी सम्पूर्ण रुपमा प्रचण्डमै केन्द्रित देखिन्छ । आखिर माओवादीभित्र अध्यक्ष, दाबी गर्ने नेतृत्व किन जन्मिएन त ?

नेपालको राजनीतिमा नेतृत्व परिवर्तन जटिल नै देखिन्छ । भर्खरै सम्पन्न एमाले महाधिवेशनबाट केपी ओली र कांग्रेसमा शेरबहादुर देउवाकै नेतृत्व नवीकरण भएको छ । माओवादीमा पनि प्रचण्डको निरन्तरता पक्का छ ।

कुन पार्टीमा को व्यक्ति दोहोरियो भन्दा पनि लोकतान्त्रिक दलभित्र मूल नेतृत्व रिझाएरै आफूलाई राजनीतिमा सुरक्षित गर्ने तप्का बढ्नुचाहीँ डरलाग्दो विषय हो । जो अहिले हरेक दलमा देखिइरहेको छ । दलहरुभित्र नेतृत्वमा पटकपटक परीक्षण भइसकेका पुरानै अनुहार दोहोरिरहँदा आम नागरिकमा भने खासै उत्साह देखिँदैन ।