१४ बैशाख २०८१, शुक्रबार

बाइकको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने तयारी, कति ठिक कति बेठिक ?

Bike

यातायात व्यवस्था विभागले दुई पांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने गरी नयाँ नियम लागू गर्ने भएको छ ।

यसअघि २०६५ सालमा पनि लागू गरेको यो नियम विभागले कार्यान्वयन गर्न सकेको थिएन । तर १३ वर्ष पछि फेरि यस्तो व्यवस्था गर्न यातायात व्यवस्था विभाग किन लागिरहेको छ ?

मोटरसाइकल र स्कुटरमा चालकसँगै बस्ने अर्को यात्रुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था यातायात व्यवस्था विभागले पुन लागू गर्ने तयारी गरेको छ ।

यसअघि नै असफल बनेको नियम ऐन नै बनाएर फेरि लागू गर्ने तयारी विभागले किन गरेको छ ? सुरक्षाको कारण देखाएर विभागले मोटरसाइकल र स्कुटरको पछाडि बस्ने यात्रुका लागि पनि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको हो ।

विभागका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०७७ को ड्राफ्ट नै तयार भएर राय, सुझावका लागि कानून मन्त्रालय पठाइसकिएको छ । तर नियम र ऐन नै बनाए पनि त्यसको व्यवहारिक कार्यान्वयन भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।

केहीले भने हेल्मेट अनिवार्य गर्ने विषय स्वार्थको खेल भएको टिप्पणी गरेका छन् । दुईपांग्रे सवारी साधनमा चढ्ने दुवै जनालाई हेल्मेट अनिवार्य गराउँदा झन्झट हुने भन्दै यात्रुको चेतनामै वृद्धि हुनुपर्ने पूर्व डीआइजी अधिकारी बताउनुहुन्छ ।

२०६५ सालमा शुरु गरिएको मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने नियम ऐनको अभावमा कार्यान्वयन हुन सकेको थिएन ।

साथै नियम झन्झटिलो भएको भन्दै ट्राफिक प्रहरीसँगै सरकारको समेत चौतर्फी आलोचना भएको थियो । केही वर्षअघि पनि यसबारे चर्चा भएको थियो चर्चा शुरु नहुँदै फेरि विवाद भएपछि निर्णय स्थगित गर्नुपरेको थियो । अब चाँहि कार्यान्वयन हुन सक्ला वा चर्चामै सीमित रहला ?