७ बैशाख २०८१, शुक्रबार

महराले भने, ‘हाम्रो महाधिवेशन हैन, राष्ट्रिय सम्मेलन हो’

mawobadi 4

नेपाल कयुनिष्ट पार्टी (माओवादी केन्द्र)ले पुस ११ गतेदेखि सुरु हुने आफ्नो सम्मेलनलाई राष्ट्रिय सम्मेलन भनेको छ । आज सम्मेलनको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले यसलाई महाधिवेशन नभई त्यसको सानो रुप राष्ट्रिय सम्मेलन भएको बताए ।

उनले यो महाधिवेशन नभएको प्रष्ट पारेका छन् । ‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने, ‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौं, क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण।’ उनले पुस ११ देखि काठमाडौँमा सुरू हुने माओवादीको राष्ट्रिय सम्मेलन यहि दुई विषयमा केन्द्रीत हुने बताए ।

क्रान्तिकारी विचार निर्माणअन्तर्गत शान्ति प्रक्रियामा आएपछि पार्टीले लिएका नीतिहरूको विषयमा गम्भीर समीक्षा हुने र नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि के गर्नु पर्छ भन्नेबारे पनि राष्ट्रिय सम्मेलनमा बहस हुने उनले बताए ।

‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौँ। त्यसबीचमा हामीले अरू पार्टीसँग पनि सहकार्य गर्‍यौं। अहिले हामी किन यो अवस्थामा छौँ भन्ने गम्भीर समीक्षा हुन्छ,’ महराले भने, ‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नुछ। त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन। नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौँ।’

उनले अब कस्तो विचार लिने र कस्तो पार्टी बनाउने भन्ने कुरा टुंगो भएपछि नयाँ नेतृत्वबारे पनि कुरा हुने बताए।