१७ असार २०८२, मंगलवार

राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडी कारबाहीमा, नयाँ कप्तानको जिम्मेवारी सन्दीपलाई

can bibad kheladi k4ZN5CprwF

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।

क्यानको आज बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो ।

क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णयसमेत लिएको छ । ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनुभएको थियो ।

सन्दीपले नेपाली यु १९ राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरिसक्नुभएको छ । त्यस्तै उहाँले इन्डियन प्रिमियर लिग (आइपिएल) देखि बिग ब्यास लिगसम्म खेलिसक्नुभएको छ ।

खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही वरिष्ठ खेलाडीको गुनासो रहेको थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो ।

त्यसैगरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुस ६ गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णयसमेत गरेको छ ।