१४ बैशाख २०८१, शुक्रबार

खड्का र गुरुङको काँग्रेस उपसभापतिमा अग्रता

61b9f5dc89e79 update

नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिनुभएको छ । प्रारम्भिक मत परिणाम अनुसार खड्का र गुरुङले अग्रता लिनुभएको निर्वाचन समिति सदस्य केशव रिजालले जानकारी दिनुभयो ।

६ सय मत गणना हुँदा खड्काले २४६ मत प्राप्त गर्दा गुरुङले २५८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी विजयकुमार गच्छदारले २४६ मत प्राप्त गर्नुभएको छ भने चन्द्र भण्डारीले २१५ मत ल्याउनुभएको छ ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा‍‍ शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।

सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ । काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा गच्छदार, खड्का, गुरुङ, सुजाता कोइराला, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको छ । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनुहुनेछ ।