७ बैशाख २०८१, शुक्रबार

परम्परावादी सोच र सत्ताको धङधङीले निकै अस्तव्यस्त र घिनलाग्दो कांग्रेस महाधिवेशन !

266023822 4596348533775442 8803107977466315799 n

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको १४औँ महाधिवेशन निकै अस्तव्यस्त र घिनलाग्दो देखियो । मदातना प्रक्रिया, मतदान प्रणालीदेखि मतपत्र छपाइसम्मका दृष्य उदेक लाग्दा बने । परम्परावादी सोच र सत्ताको धङधङीले कांग्रेस परिवर्तनको मार्गमा एक पाइला पनि अघि नबढेको देखिएको छ ।

मुलकुकै पुरानो र सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन बेथितिको परिचायक बनेको छ । पाँचपटक म्याद थामेर संबैधानिक बाध्यताका कारण गरिएको १४ औं महाधिवेशनको आयोजना र व्यवस्थापनले भदौमा हुने गाइजात्रा मंसिरमा अनि हाडीगाउँको जात्रा भृकुटीमण्डपमा सरेको देखिएको छ।

महाधिवेशन उद्घाटनको दिनसम्म पनि महाधिवेशन गर्ने कि सार्ने अनि कसरी गर्नेमै द्विविधामा देखिएको कांग्रेसको व्यवस्थापनले त हाइटेकको गफ गर्ने कांग्रेसीजनलाई गिज्याएको मात्र छैन, कुरीकुरी समेत गरेको छ। उद्घाटनमा कति कार्यकर्ता आउँछन् भन्नेसम्म हेक्का गरेर कार्यक्रम स्थल व्यवस्थापन गर्न नसक्ने कांग्रेस नेतृत्वले निर्वाचनमा अपनाएको विधिले त उन्नाइसौ शताब्दीको झल्को दिएको छ।

कार्यकर्ता भनेका भोट मेसिन हुन् भन्ने राम्ररी बुझेका कांग्रेस नेताहरुले महाधिवेशनमा त कार्यकर्ता रैती र आफू शासक भएको समेत प्रमाणित गरेका छन् । भोट हाल्न कार्यकर्ताको जिउ नै सेनिटाइज गराएका नेताले मास्क समेत नलगाउनुले नेतालाई कोरोनाले पनि छुँदैन र छोएपनि राज्यकोषबाट मुफ्तमा उपचार गर्न पाइने रितीलाई सम्झाएको छ।

कार्यकर्तालाई बिहान ९ बजेबाट भोटको लाइनमा बसाएका नेता कार्यकर्ताले चिसो भात समेत खान नपाउँदा नेताका राजसी ठाँट र भोजनले पनि काँग्रेसमा राजतन्त्रको भूत नसेलाएको पुष्टि हुन्छ । उदेकलाग्दो कुरा मतदान जारी रहँदा मतपत्र सकिने निर्वाचन समितिको तयारीलाई के भन्ने होला ? पाँच हजार मतपत्र समेत छाप्न नसक्ने र एकैपटक ल्याउन नसक्नेका नेताले तीन तहको निर्वाचन एकैपटक गर्ने डिँग किन हाँक्नु ? बीस घण्टा लाइनमा उभिएर बल्ल भोट हाल्न पाउने कार्यकर्ताले उभिएरै फेरि एक घण्टा २९ वटा लिफाफामा भोट हाल्नु यो कुन आधुनिकता र प्रविधिको परिचायक बनेको होला कांग्रेस ? हुनत एक्काइसौं शताब्दीमा हाइटेकको सट्टा हिलटेकमा जमेको कांग्रेसका लागि प्रविधि भैंसीलाई मुरली फुकेभन्दा के फरक भयो र ?

कांग्रेस नेताहरुको चुनाव प्रचार शैलीसमेत उदेकलाग्दो देखियो । भृकुटीमण्डप पुगेका हरेक विवेकशील नागरिकले त्यहाँ र वरिपरि पोखिएको अनि छरिएको पर्चामा नेताको लिलामी भएको विवेक देख्नु स्वभाविक हो । वडा तहबाटै निर्वाचित हुँदै तीस लाख समर्थक, आठ लाख सदस्यबाट छानिएर आएका ४७ सय महाधिवेशन प्रतिनिधिलाई चिनाउन यत्नाविधि प्रचारका पोस्टर पम्प्लेट बनाउनेले कांग्रेसको पार्टी जीवनमा के काम गरे होलान् रु साढे ५ वर्षमा हुँदै गरेको महाधिवेशनको बीचमा देशमा ठूला २ चुनाव हुँदा कार्यकर्ता बीचमा गएको भए आम चुनावमा समेत तिरस्कृत र पुरातन भएको प्रचार शैली अपनाउनु जरुरी थियो र ?

रातभरी मतदान र मतगणना गरेको कांग्रेसले पत्रकार र संचारकर्मीमाथि देखाएको उदासिनता अर्को उदेकलाग्दो विषय बन्यो । लोकतन्त्रमा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनि सूचनाको हकको कुरा गरेर नथाक्ने कांग्रेसले महाधिवेशनमा सरकारी र निजी भनेर संचारमाध्यमलाई गर्न खोजेको वर्गीकरणले पनि कांग्रेसको सोच र सत्ताको धङधङी प्रष्ट हुन्छ ।

स्वयम् कांग्रेसी कोटामा पत्रकार महासंघको सभापति भएका कांग्रेसी मिडिया सेन्टरका वेतलबी हाकिमको रवैयाले पनि संचारकर्मीलाई झस्काएको छ। कम्युनिष्ट सरकार आए रुन पनि पाइन्न भन्ने सभापतिका मानुषपुत्रहरु मौका पर्दा आफू पनि राजतन्त्रकालिन भूत उखेल्दा रहेछन् भन्ने पुष्टि भएको छ ।

अर्को बेथिति र गाइजात्रा नेता रामचन्द्र पौडेलले पनि देखाउनुभो कांग्रेस महाधिवेशनमा । पदका लागि कुनै मौका नछाड्ने र डेढ दर्जनपल्ट हार्दा पनि नचेत्ने आरोप लागेका पौडेल आफ्नै समूहले नपत्याएपछि आँसु पुछ्दै त्यागी महात्मा गान्धीको नाटक मन्चन गरिरहनुभएको छ। आफूले नपाउँदा मत हाल्न समेत नजाने पौडेलले देखाएको असंलग्न नीति पनि कांग्रेस महाधिवेशनभित्रको अर्को भद्दा मजाकबाहेक के नै हो र ? अनि हुन सक्छ र ?