१४ बैशाख २०८१, शुक्रबार

पुनः सभापति देउवा बन्ने सम्भावना बलियो बन्दै जाँदा, यस्ता छन् अबका चुनौति

sher bahadur deuba at rastriya sabha griha 2078 10

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति बन्ने सम्भावना बलियो बन्दै जाँदा सभापितका रुपमा उहाँका चुनौतिबारे पनि चर्चा शुरु भएको छ । सभापतिका रुपमा पार्टी सन्चालनमा असफल भएको आरोप खेपिरहेपनि देउवा पुनः सभापतिको दौडमा बलियो देखिनुभएको छ ।

शेरबहादुर देउवा अघिल्लो महाधिवेशनबाट पार्टी सभापति भएपछिको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो। एकातिर दुई ठूला कम्युनिष्ट पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन र अर्कोतिर पार्टीको आन्तरिक व्यवस्थापनमा देउवाको कमजोर नेतृत्व चुनावी परिणाममा स्पष्टै देखिएको थियो ।

आम निर्वाचनअघि नै स्थानीय तह निर्वाचनमा समेत देउवा नेतृत्वको नेपाली कांग्रेसले नमिठो नतिजा भोगिसकेको थियो । कतिपय ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गर्दागर्दै पनि कांग्रेस उम्मेदवारहरु पराजित हुन पुगे । पार्टीभित्रै चरम असन्तुष्टिका बावजुद कांग्रेसका मतदाताले माओवादी उम्मेदवारलाई भोट हाले ।

एमाले अध्यक्ष केपी ओलीविरुद्ध गठबन्धन गरेर सँगै सत्तायात्रा गरिरहेका बेला भएको यो गठबन्धन आम निर्वाचन अगावै टुटफुट भयो । स्थानीय तहको निर्वाचनमा एमालेप्रति मतदाताले देखाएको विश्वासबाट लोभिएका माओवादी अध्यक्ष प्रचण्ड कमजोर कांग्रेसको साथ छोडेर ओली क्याम्पमा पुग्नुभयो ।

सरकार र पार्टी दुवैको चाबी आफ्नै खल्तीमा राखेर उँघिरहेका देउवा आम निर्वाचनमा पार्टीले भोगेको सर्मनाक हारको जिम्मेवारी आफूले होइन कार्यकर्ताले लिनुपर्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन पछि पर्नुभएन । सभापतिको असक्षमताले पार्टी पराजित भएको बुझेका नेताहरुले गरेको मोर्चाबन्दीमा विस्तारै खिया लाग्दै गयो ।

अन्ततः पार्टीको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा आइपुग्दा देउवाविरुद्ध संगठित थुप्रै अनुहार तितरवितर बने । हरेक महाधिवेशनमा रट्ने गरिएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मन्त्र यसपटक पनि रट्न छुटाइएन । बिरालो पनि बाँधियो र अग्नीकुण्डमा आफ्नो विवेक छर्केर स्वाहा गरियो ।

१३ औँ महाधिवेशनपछि ५ वर्ष ९ महिनामा देउवाले खनेको बाटो कति चर्कियो, कति भत्कियो, कति उजाडियो र कति बन्द भयो भन्ने कुराको हिसाब किताब कसैले निकालेनन् । बरु देउवाले सत्तामा बसेर खाइरहेको ठूलो भाग देखेर फेरि वरिपरि झुम्मिनेहरुको बथान बढेको छ । सत्तामा भएकै बेला चुनाव गराएर पार्टीलाई १३ प्रतिशत सिटमा झारेका देउवाले फेरि आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने भन्दै मत मागिरहनुभएको छ ।

त्यसो त कांग्रेसमा पार्टीको सपना र योजना सुनाउनेले नै जित्छन् भन्ने छैन । समाजवादको नारा लगाउँदै धनवाद र डनवादको फेरो समातेर अघि बढेका नेताहरुले चुनाव जित्न कार्यकर्तालाई मन दिनुपर्छ भन्ने नै छैन । मन जित्ने र मत जित्ने बेग्लै हुनु कांग्रेसमा दोहोरिरहने नियति हो । यो महाधिवेशनमा देउवाले पार्टीलाई संगठित गर्न सकेनन्, कामको डेलिभरी दिन सकेनन्, प्रतिपक्षीमा हुँदा सबल र सरकारमा हुँदा सफल हुन सकेनन् भन्नेहरुले नै आफ्नो विवेक निकालेर देउवाको ट्यांकीमा खसाली दिएका छन् ।

परिवर्तन यसै हुँदैन । पार्टीमा सफल नहुनेहरुलाई विस्तारै किनारा लगाउँदै केही गर्न चाहनेलाई स्वागत गर्ने परिपाटीको विकास कांग्रेसीजनले गर्न नजानेको तस्बिर राष्ट्रिय सभागृहबाट प्रदर्शित भयो ।

विकल्प खोज्न डराउने नेताले पार्टी कमजोर भयो, नेतृत्वले कुरा बुझेन, नेतृत्वले कुरा भनेन वा सुनेन भनेर गुनासो गर्न कहाँ जाने ? गुटगत राजनीतिले थला परेको कांग्रेसमा यसपटक पुराना गुटहरु भत्किएर नयाँ गुटहरुको जन्म भएको छ । बरु यसपटक पार्टीको संस्थापन पक्षसँग धेरै र इतरपक्षसँग थोरै गुट रहने देखिएको छ ।

स‌स्थापनइतर तितरवितर हुँदा पार्टीभित्र बलियो बनेका देउवा नेकपा टुटफुटका कारण सत्तामा सहजै पुग्नुभयो। देउवाको सभापितको रुपमा दोस्रो इनि‌ङ्सले उहाँ निकटलाइ त खुशी बनाउलानै तर आम निर्वाचनमा का‌ंग्रेसका पक्षमा माहोल बन्नेमा भने शंका गरिएको छ ।

तैपनि यी गुटहरुले फेरि निर्वाचित भएर आउने पार्टी सभापति देउवालाई सकारात्मक रुपमा दबाब दिने र आफ्ना एजेण्डाहरुमा केन्द्रित गर्न सकेनन् भने भविस्य थप अन्धकार हुने निश्चित छ । हारको ऐठनमा मध्यरातमा देउवाविरुद्ध जति बर्बराए पनि कम्तीमा यो कार्यकालमा रुपान्तरणको सपना आउन नदिनु कांग्रेसजनलाई भलो हुने देखिन्छ ।