६ चैत्र २०८०, मंगलवार

फेरि मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क

rastrabank

नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।

वाणिज्य बैङ्कमा एक अर्ब रुपियाँ, विकास बैङ्कमा १८ करोड ७५ लाख रुपियाँ र वित्त कम्पनीमा छ करोड २५ लाख रुपियाँ गरी कुल एक अर्ब २५ करोड रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले आगामी पुस १ गतेदेखि २०७९ मङ्सिर २९ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको कुल निक्षेप रकम चार अर्ब ३० करोड रुपियाँ पुगेको छ । यसअघि नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब पाँच करोड रुपियाँ बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने सूचना जारी गरिसकेको छ ।