११ बैशाख २०८१, मंगलवार

देशमा नेताहरु नै बिग्रिए, माओवादीमा आएकाहरु फेरि एमालेमा फर्किएः प्रचण्ड

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा नेताहरु नै बिग्रिएको धारणा राखेका छन् । उनले जनता र कार्यकर्ताहरु नबिग्रिए पनि नेताहरु बिग्रिएको टिप्पणी गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले भने, ‘देशमा नेताहरु नै बिग्रिएका छन् । नेताहरु सच्चिन्छौँ भनेपछि सबै कुरा लयमा आएको छ ।’

उनले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेकोसमेत बताए । माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयास भएको भन्दै प्रचण्डले माओवादी बलियो भएमात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटनमा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै प्रचण्डले नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको बताए । उनले नेपालमा परिवर्तनको रक्षाको लागिमात्रै नभई राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिन, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पु¥याउन, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ’, प्रचण्डले भने, ‘हिजो गणतन्त्रका विरुद्ध जो लागे ती अहिले पनि गणतन्त्रविरोधी नै छन् । जो संघीयताको विरुद्ध लागे त्यो अहिले पनि संघीयताका विरुद्धै छन् । महिलालाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । दलितहरुलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरु अहिले पनि त्यहीँ छन् । यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धिहरु बच्छन्। तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ ।’

अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेस केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरे । उनले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए । उनले मधेसमा माओवादीले संघीयता छोड्यो भनेर भ्रम फैलाइएको बताए । ‘मैले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रस्ताव पारित नभएको हो’, प्रचण्डले भने, ‘तपाइँलाई थाहा छ, एमालेको केपी गुट जनजातिको विरोधी छ । दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी छ । उनैको कारणले संविधान संशोधन नै भएन ।’

अध्यक्ष दाहालले माओवादी केन्द्रका सदस्य संख्या १० लाख पुग्ने दाबीसमेत गरे। उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए । प्रचण्डले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, जनता र उनीहरुको मुक्ति आन्दोलनलाई निष्कर्षमा पु¥याउने कुरा जनतासमक्ष प्रस्तुत गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।