१४ बैशाख २०८१, शुक्रबार

छुटेकाको परीक्षा बिहीबार, १२ को नतिजा मङ्सिर २० भित्र

see2021 06 26 07 57 16

भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।

बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उहाँहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

१२ को नतिजा मङ्सिर २० भित्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई परीक्षण तथा तालिकीकरणको काम सकेको छ ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआएमा मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताउनुभयो । कोभिड १९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।