१३ बैशाख २०८१, बिहीबार

सबैको सहकार्य आवश्यक खेलकुद क्षेत्रलाई गतिशील बनाउन: घिसिङ

council

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरूसँग बुधबार बैठक बसी छलफल गरेका छन् ।

सदस्य सचिवको कार्यभार सम्हालेको दोस्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो ।

बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आआफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य सचिव घिसिङलाई जानकारी गराइएको थियो ।

बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले परिषद्मा रहेको विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउँदै खेलकुद क्षेत्रलाई अझ गतिशील बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

घिसिङले क्रमैसँग बाँकी शाखा र विभागका प्रमुखसँग पनि छलफल गर्ने जानकारी दिए ।

    सम्बन्धित समाचार...