१२ बैशाख २०८१, बुधबार

आजदेखि सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन

suprem court

सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुँदैछ ।

आज बिहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोला तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्ने भएका हुन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने जानकारी दिनुभयो । संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुन लागेको हो ।

नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोपसहित नेपाल बार एशोसिएशनले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्न माग गरेको थियो ।

गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनमा पनि अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको थियो ।