१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय प्रसारणमा थपियो ५२ मेगावाट

likhu

राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ । रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाबाट अहिले करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा आयोजना सम्पन्न गरी विद्युत् बिक्री गर्न थालेको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा
खसालिएको छ ।

उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, खिम्तीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ ।

निर्माण सम्पन्न आयोजनाले तत्कालै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने ग्रिनभेन्चर लिमिटेडका अध्यक्ष सुभाष सङ्घाईले बताउनुभयो । यसअघि रामेछापको हलेदेबँेसीदेखि ओखलढुङ्गा रगनीसम्मको प्रवेश सडकलगायतको पूर्वाधारको काम गरेको थियो ।