८ बैशाख २०८१, शनिबार

भारतमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न टेन्डर आह्वान

NEA

नेपाल विद्युत् प्राधिकरणले वर्षा याममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आह्वान गरेको छ ।

प्राधिकरणले शुक्रवार टेन्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत् पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्नेछ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरू, विद्युत् वितरण कम्पनीहरू लगायतले बिद्युत् खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक भारतीय कम्पनीहरूले आगामी १३ जेठ गते मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरूले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

भारतले नेपालका ६ वटा विद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन मार्फत निर्यात हुनेछ ।