१९ बैशाख २०८१, बुधबार

मन्त्रीका अंगरक्षकले चलाए गाेली, कांग्रेस अधिवेशन स्थलमा दुई समूहबीच विवाद

Congress

बलरा नगरपालिका–९, अचलगढमा काँग्रेसको वडा अधिवेशन स्थलमा दुई समूहबीच विवाद भएपछि गोली चलेको छ ।

आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा कांग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह अधिवेशनस्थल पुग्नुभएका थियाे ।

कांग्रेस नेता एवं सर्लाही क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य डा अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री सिंहका कार्यकर्ताबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अङ्गरक्षकले एक राउण्ड हवाई फायर गरेका हुन् ।

विवादका क्रममा आफ्ना अङ्गरक्षक (पीएसो) प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाईते भएका छन् । घाईते दुबै जनाको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेकाे छ ।

मन्त्री सिंहले डा अमरेश कुमार सिंह निकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

विवादपछि अचलगढमा आइतवारकाे कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।

बलराकै वडा नं ५ अर्नाहा र वडा नं ११ छतौनामा पनि विवादकै कारण वडा अविधेशन स्थगित गरिएको छ । वडा नं २, ३, ४, ६ र ७ मा सहमतिमा नेतृत्व चयन भएको छ । ११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरुमा सोमवार मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ ।