८ बैशाख २०८१, शनिबार

कडा टक्कर कांग्रेसको जिल्ला नेतृत्वमा देउवा र पौडेल समूहबीच

Deuba Poudel
फाइल फोटो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको परिणाम आउन थालेको छ ।

हालसम्म ४२ जिल्लाको परिणाम आउँदा संस्थापन र संस्थापन इतरको टक्कर देखिएको छ । ललितपुरमा प्रकाशमान सिंह र गगन थापाको समूहबाट जितेन्द्र श्रेष्ठले जित हात पार्नुभएको छ ।

त्यस्तै दैलेखमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी विजयी हुनुभएको छ । इलाममा संस्थापन पक्षका डम्बरबहादुर खड्काले जित्नुभएको छ । यता, काभ्रेमा सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका तिर्थ लामाले सभापतिमा जित हाँसिल गर्नुभयो । दाङमा भने पौडेल–कोइराला पक्षले जित हात पारेको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवा, धनकुटा, खोटाङ र दार्चुलामा कांग्रेस अधिवेशन हुन बाँकी छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल, रुकुम पश्चिम सभापतिमा प्रेमप्रकाश वली, डोटी सभापतिमा नरेन्द्रबहादुर सिंह, डोल्पा सभापतिमा दीपेन्द्रबहादुर शाही, जुम्ला सभापतिमा कर्णबहादुर शाही र जाजरकोट सभापतिमा बेदराज सिंह निर्वाचित हुनुभएको छ । त्यस्तै, तेह्रथुम सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पा सभापतिमा किशोर आचार्य निर्वाचित हुनुभएको छ।

यसैगरी, भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पाँचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित हुनुभयो ।

कांग्रेसले मंसिर १६ र १७ गते ७ प्रदेशको अधिवेशन गर्ने कार्यतालिका छ । त्योभन्दा अगावै जिल्लाहरूको अधिवेशन सम्पन्न भइसक्नुपर्नेछ । मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ ।