८ बैशाख २०८१, शनिबार

पाँच सय ८० वर्षयताकै सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै

chandragrahan

आज चन्द्र ग्रहण लाग्दैछ । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ ।

सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्न गए चन्द्र ग्रहण लाग्छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण आज लाग्नेछ । चन्द्र ग्रहणको अवधि ३ घण्टा २८ मिनेट २४ सेकेण्डको हुनेछ ।

पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुने खगोलविद्को भनाइ छ । ग्रहण एशिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतमा देखिने छ ।

ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ । यस पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ तारिखमा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो ।

यसैबीच कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उहाँले बताउनुभयो । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।