१५ चैत्र २०८०, बिहीबार

जनता आक्रान्त मुल्यवृद्धिले, निगम विचौलिया जस्ताे मुस्कुराइरहेकाे छ

Nepal Oil NOC

मूल्य समायोजनको नाममा नेपाल आयाल नियमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्‍यो । तै पनि अझै घाटा रहेको निगमको दाबी छ । निगमको यस्तो रबैयाले फेरि मूल्य बढ्ने हो कि भन्ने त्रास उपभोक्तामा देखिन्छ ।

निगमले उपभोक्तालाई त्रसित र व्यवसायीलाई उत्साहित बनाउने गरी सूचना प्रवाह गरिरहेको छ । मूल्यवृद्धिले जनता आक्रान्त भइरहँदा निगम विचौलिया जस्तो मुस्कुराइरहेको छ ।

नेपाल आयल निगमले डेढ वर्षदेखि निरन्तर इन्धनको मूल्यवृद्धि गरेको छ । पटक(पटक मुल्यबृद्धि गर्दा समेत निगममा सधै घाटा हुन्छ भन्छ । तर भत्ता र बोनस बाँड्न भने छोडेको छैन।

कर्मचारीले पेट्रोलियम जोखिम भत्ता, यातायात खर्च, लुगा धुने भत्ता, खाजा खर्च तथा महँगी भत्ता खाइरहेका छन् । घाटा छ भन्दै मूल्य बढाउँदै गरेको निगमको दादागिरीका कारण नागरिक डराउनुपर्ने अवस्था आएको छ ।

यसरी निगमले मूल्य बढ्छ भनेर उपभोक्तालाई त्रसित बनाएको छ भने व्यवसायीहरुलाई यही हो मौका भनेर खुल्लमखुल्ला सूचना समेत दिइरहेको छ ।

निगमले कात्तिक १२ यता दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिसकेको छ  । फेरि बढ्छ भनेर कालोबजारी गर्नेहरुलाई निगमले मौकासमेत दिइरहेको छ । फेरि मूल्य बढ्ने र बढेको मूल्यमा इन्धन बेच्ने दाउमा कतिपयले त लुकाउनसमेत थालिसकेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेकाले नेपालमा वृद्धि गर्नु बाध्यता त होला तर अझै बढ्छ भन्दै निगमले प्रचारप्रसार गरिरहँदा कालोबजारी गर्नेहरु सलबलाएका छन् ।

अनि संस्था घाटामा जाने तर अव्यवहारिक रुपमा भत्ता खाएर मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम निगमले कहिलेसम्म गरिरहने ?

इन्धनको अचाक्ली मूल्यवृद्धि हुनुको पछि सरकारको समेत ठूलो हात छ । कोरोनाका कारण मारमा परेका आम नागरिकलाई इन्धनमा सहुलियत दिनुको साटो निरन्तर भइरहेको मूल्यवृद्धिमा सरकारमा बसेकाहरुले झन र्‍याल काढिरहेको देखिन्छ ।