१२ बैशाख २०८१, बुधबार

कर्णालीमा सरकारी जहाजको नियमित उडान, सर्वसाधारणले टिकट नै पाएनन्

Nepal airlince 768x512 1

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थालेपनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।

विभिन्न बहाना, कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्ला लगायत कर्णालीका दुर्गम जिल्लामा नियमित चार उडान शुरु गरेको छ ।

सरकारी जहाजले नियमित उडान गरेपछि निजी एयरलाइन्सको चर्को भाडा र मनपरीले आजित भएका सर्वसाधारण उत्साहित थिए । तर नेपाल एयरलाइन्सको नियमित उडानले सर्वसाधारणले सहजै टिकट पाउन सकेका छैनन् ।

गुठिचौरका स्थानीय धर्मेन्द्र महतारा भन्छन्,“टिकट वितरण सहज गर्न लाइन सिस्टम गरियो । सरकारी जहाजले नियमित उडान पनि गर्‍यो । तर टिकट पाउन सास्ती उस्तै छ । टिकटका लागि रातभरि जाग्राम बस्न बाध्य छौ । ई टिकटको व्यवस्था नभए सम्म जुम्लामा हवाई समस्या समाधान सम्भव छ ।” कात्तिकको कठयाग्रिदो चिसोमा रातभर जाग्राम बसे पनि हवाई टिकट नपाएको महताराको भनाई छ ।

जुम्लामा गएको कात्तिक १५, १८, २१ र २२ गते नेपाल एयरलाइन्सले नियमित उडान भरेको स्टेशन इन्चार्ज देवीचन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सरकारी जहाज आउन थालेपछि विमानस्थलमा चाप पनि कम भएको छ । लाइनकै आधारमा टिकट दिँदा पछि आउनेले १/२ पर्खिन परेको उनको भनाई छ । सरकारी जहाजको उडानले कर्णालीमा हवाई सेवा सहज हुने अपेक्षा गरिएको छ ।

साथै, मुगुको ताल्चा विमानस्थलमा करिब १९ महिनापछि कात्तिक १४ गतेबाट सरकारी एयरलाइन्सले उडान भरेको छ । अहिले नियमित हप्तामा दुई उडान भरिरहेका छन् । तर सर्वसाधारणलाई भने टिकट पाउन उत्तिकै समस्या रहेको सञ्चारकर्मी नन्द रोकायाले बताउनुभयो । ताल्चा विमानस्थलमा यात्रु चाप वृद्धि भइरहेको अवस्थामा निगमको जहाजले उडान सुचारु गर्दा सहज हुने अपेक्षा गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।

डोल्पामा हवाई टिकट नपाउँदा विद्यार्थीहरू परीक्षा छुट्ने चिन्तामा रहेको सञ्चारकर्मी नरजङ तामाङले बताउनुभयो । उहाँका अनुसार तिहारपछि फर्किनेको भिड भएपछि पहुँचवालाले मात्रै टिकट पाएका छन् । तर सर्वसाधारण विद्यार्थीलाई भने टिकट पाउनै मुस्किल भएको उहाँको भनाई छ । हवाई सेवा सम्बन्धी रिपोर्टिङ गर्न जाँदा पत्रकार तामाङलाई प्रहरीले दुर्व्यवहार समेत गरेको छ ।

कर्णालीमा हवाई यातायातमा राज्यको उपस्थिति नियमित छैन । दुई दिन उडान गर्ने बन्द गर्ने प्रवृत्ति छ । अब नियमित गरेर कर्णालीवासीलाई सरकारी जहाजले सेवा दिनु पर्ने नागरिक अगुवाहरूको माग छ ।

अहिले कर्णालीको हुम्ला, जुम्ला र ताल्चा विमानस्थलमा सरकारी जहाजले हप्तामा ६ उडान भर्दै आइराखेको छ । जुम्लामा हप्तामा तीन, ताल्चामा हप्तामा दुई र हुम्लामा एक उडान भरिरहेको नेपाल एयरलाइन्स नेपालगंज स्टेशन प्रमुख यमराज सिंहले जानकारी दिनुभयो । तर निजी र सरकारी एयरलाइन्सको उडान भए पनि सहजै टिकट नभएको यात्रुको गुनासो छ ।

कर्णालीकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल जुम्लामा सहज टिकट वितरण प्रणाली लागु गर्न पटक पटक छलफल बहस भए पनि पहुँचवालाकै हालीमुहाली छ । टिकट वितरणलाई पारदर्शी बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

कहिले बिग्रिने, कहिले मौसमको प्रतिकुलता त कहिले ग्राउण्डेड भएको बहाना बनाएर कर्णालीमा सरकारी जहाज नियमित हुन सकेको छैन । नियमित उडान भए पनि सर्वसाधारणलाई सास्ती उस्तै छ । नियमित उडान,पारदर्शी टिकट वितरण गर्न सरकारी स्तरबाटै ठोस निर्णय गर्न आवश्यक रहेको नागरिक अगुवा राजबहादुर महतको भनाई छ ।