१२ बैशाख २०८१, बुधबार

अदालतमा भैरहेका गैरकानुनी काम निस्तेज गरेर बेन्च अगाडि बढाउँने प्रधानन्यायाधीशको चेतावनी

pradhannyayadhisa okil

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो ।

ुअदालत प्रशासन चलाउने काम मेरो हो । नेपालको संविधान कानुन, न्याय प्रशासन ऐनअन्तर्गत बेन्च तत्काल अगाडि बढाउँछु । गैरकानुनी काम निस्तेज गर्छु,ु जबराको भनाई उद्धृत गर्दै अधिवक्ता बसन्त बस्नेतले बताउनुभयो ।

अधिवक्ताको समूहले बेन्च सूचारु गर्नुपर्ने, बारको वैधानिक माग पूरा गर्ने तथा अवैधानिक कुरालाई अस्वीकार गर्नुपर्ने मुख्य तीनवटा माग राखेर प्रधानन्यायाधीशलाई ज्ञापन बुझाएको हो ।

त्यसैगरी वरिष्ठ अधिवक्ता, १९ जना न्यायाधीशहरु र हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालत भ्रष्टाचार भइरहेको देखाएकाले भ्रष्टाचारको छानविन गरी को को दोषी छन् न्यायाधीश, वकिल, बिलौचिया सबैलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

बस्नेतका अनुसार अदालत प्रशासनले रिट र मुद्दा दर्ता नगरेकोमा पनि अधिवक्ताहरुले प्रधानन्यायाधीशसँग असन्तुष्टि जनाएका थिए । न्यायाधीशलाई हड्ताल गर्ने अधिकार नभएको तर्फ पनि ध्यानाकर्षण गराएका थिए ।

सहभागीहरुले प्रधानन्यायाधीसलाई आफू गलत भए नैतिकताका आधारमा राजीनामा दिन र सही भए कसैको दबाबमा नपर्न दबाब दिइएको उहाँले बताउनुभयो । अदालतलाई बन्धक बनाउन नमिल्ने भएकोले न्याय प्रशासन ऐनअन्तर्गत अदालतलाई अगाडि बढाउन सुझाव दिइएको बस्नेतले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश कहाँ ६० जना अधिवक्ताको डेलिगेसन गएको बस्नेतले दाबी गर्नुभयो ।