११ बैशाख २०८१, मंगलवार

विश्वासको मत प्राप्त बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई

rajendra1634816796

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाको बैठकमा विश्वासको मतका राख्नु भएको प्रस्तावको पक्षमा ५९ मत परेको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने दलको नेताको रुपमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

यसअघि मुख्यमन्त्री पाण्डेले विश्वासको मतको लागि प्रस्ताव राख्दै पक्षमा मत दान गर्न आग्रह गर्नुभएको थियो ।

प्रदेश सभाको बैठकमा १०४ जना प्रदेश सभा सदस्य उपस्थित रहेको मुख्यमन्त्री पाण्डेले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको विपक्षमा ४३ मत परेको छ । दुई जना प्रदेश सभा सदस्य रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रहेको थियो ।

दुई जना प्रदेश सभा सदस्य रहेको राष्टिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्य मतदानमा अनुपस्थित रहेका थिए ।

नेकपा (माओवादी केन्द्र) २३, नेपाली काँग्रेस २२, नेकपा (एकीकृत समाजवादी) १३ र एक जना प्रदेश सभाका सदस्य रहेको जनता समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्यले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।

यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।